काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नियन्त्रण कार्यालय बल्खु तथा सम्बन्धित डीन कार्यालयमार्फत सञ्चालन हुँदै आएका सम्पूर्ण परीक्षा स्थगित गरेको छ।

रसुवाको रसुवागढीस्थित भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा यही १० भदौमा भीषण बाढीबाट उत्पन्न प्राकृतिक विपद्लाई मध्यनजर गर्दै विश्वविद्यालयले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

त्रिवि कार्यकारी परिषद्को १२ भदौमा बसेको बैठकले विपद्का कारण परीक्षार्थीहरूलाई आवतजावत तथा परीक्षा सहभागितामा पर्न सक्ने कठिनाइलाई ध्यानमा राख्दै हालका लागि सबै परीक्षा रोक्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ।

निमित्त रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेद्वारा जारी सूचनामा स्थगित परीक्षाको संशोधित तालिका चाँडै सार्वजनिक गरिने उल्लेख छ।

विश्वविद्यालयका अनुसार केन्द्रीय परीक्षा सञ्चालक समिति तथा सम्बन्धित अध्ययन संस्थान र संकायअन्तर्गतका परीक्षा सञ्चालक समितिले आगामी भदौ २० गतेभित्र नयाँ परीक्षा तालिका प्रकाशन गर्नेछन्।