मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि अब आफ्नै दल नेपाली कांग्रेसका तर्फबाट बाँकी ५ मन्त्री नियुक्त गर्न तयारी थालेका छन्। सत्ता साझेदार नेकपा एमालेसँगको भागबन्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय पाएको छ। एमालेले आफ्नो भागमा परेका ६ वटै मन्त्रालयमा मन्त्री पठाइसके पनि, कांग्रेसले आन्तरिक विवादका कारण साउन २० गते शपथका दिन दुईजना मात्रै मन्त्री नियुक्त गरेको थियो। तीमध्ये कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र शिवराज अधिकारीलाई बिनाविभागीय मन्त्री बनाइएको थियो, जसको जिम्मेवारी अझै तोकिएको छैन।
अब कांग्रेसले बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोक्दै थप ५ मन्त्री नियुक्त गर्नुपर्नेछ। तर यी ५ पदका लागि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षले आफ्ना ३ जना पर्नुपर्ने अडान राखेको छ। मंगलबार विश्वासको मत दिन लामा पक्षका १३ सांसदले यही शर्त राखेका थिए। सहमति जुटाउन पार्टी सभापति शेरबहादुर देउवाले नै निर्देशन दिएका थिए।
मुख्यमन्त्री बानियाँले केन्द्रको निर्देशनअनुसार एक–दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्। तर ५ पदका लागि १३ जनाले दाबी गर्दै पार्टीभित्र चर्को रस्साकस्सी भएको छ।
मन्त्री पदको आकांक्षामा काभ्रे २(२) का कञ्चनचन्द्र बादे, रसुवा १ (१) का प्रभात तामाङ, काठमाडौं १(४) का श्रीराम लामिछाने, भक्तपुर १(१) का सुरेश श्रेष्ठ, काठमाडौं २(५) का श्यामबहादुर खड्का, काठमाडौं२ (१) का सुरजचन्द्र लामिछाने र काठमाडौं २(३) का विमल ठकुरी पार्टी शीर्ष नेताहरूको ढोका ढक्ढक्याइरहेका छन्।
पहिले मन्त्री पदबाट राजीनामा दिएका खड्का, लामिछाने र ठकुरीले बानियाँसँग आफ्नो सहभागिता सुनिश्चित भएको दाबी गरेका छन्। स्रोतका अनुसार बानियाँले लामिछानेलाई आर्थिक मामिला तथा योजना, ठकुरीलाई संस्कृति तथा पर्यटन, र खड्कालाई खानेपानी मन्त्रालय दिने आश्वासन दिएका थिए। तर खानेपानी मन्त्रालयमा तामाङ नियुक्त भएपछि खड्का असन्तुष्ट बनेका छन्।
महिला कोटामा काठमाडौंबाट सुना परियार, ललितपुरबाट उर्मिला नेपाल, चितवनबाट बिनु रायमाझी र काठमाडौंबाट मीना पराजुली पोखरेल पनि सक्रिय लबिङमा छन्। रायमाझी र परियार दुवै बानियाँलाई दलको नेता बनाउन सक्रिय रहेकाहरू हुन्। लामा पक्षमै रहेको भनी विज्ञप्ति जारी गरेकी मीना पराजुलीलाई पनि मन्त्री बनाउने शर्तमा बानियाँले फिर्ता बोलाएको चर्चा छ।
लामा समूहले धादिङ १ (२) का गोविन्द लम्साल, चितवनबाट समानुपातिक माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउनुपर्ने माग राखेको छ। तर चितवनबाट बिनु रायमाझीको नियुक्ति लगभग पक्का देखिएकाले माया श्रेष्ठ र गुरुङको सम्भावना कम छ। धादिङबाट शिवराज अधिकारी मन्त्री भइसकेका कारण त्यहाँबाट अर्को नियुक्ति असम्भाव्य देखिन्छ।
यद्यपि पार्टी शीर्ष नेताहरूले सहमति कार्यान्वयन गर्न निर्देशन दिएमा लम्सालको सम्भावना खुला रहने प्रदेश कांग्रेस नेताहरूको भनाइ छ। सिन्धुली १(२) का छेत्रबहादुर बम्जन र नुवाकोट २(१) का रमेशकुमार महत पनि मन्त्री बन्ने चर्चामा छन्।
















