मकवानपुर । बागमती प्रदेशको राजधानी भएर पनि गतिलो स्वास्थ्य सेवा पाइन नसकिने विश्लेषण हुने हेटौँडामामा अब एमबीबीएस पढाई सुरु हुने भएको छ ।
चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको हो । यो स्वीकृतिले प्रदेशमा मात्र नभई मुलुकको स्वास्थ्य शिक्षा क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालनमा छन् । बीएस्सी नर्सिङ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यस वर्ष २० सिटबाट बढाएर ३० सिट पुर्याइएको बताइएको छ । मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ कार्यक्रम भने २०/२० सिट कायम रहेका छन् । यस्तै, ब्याचलर अफ फार्मेसी कार्यक्रम ३० सिटकै संरचनामा निरन्तर सञ्चालन हुनेछ ।
स्नातक तहका यी कार्यक्रमहरूसँगै प्रतिष्ठानले स्नातकोत्तर तहमा पनि नयाँ उपलब्धि हासिल गरेको छ । यसै शैक्षिक वर्षदेखि एमडीको सात वटा विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट स्वीकृति प्रदान गरिएको छ । स्त्री तथा प्रसूति विभागमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक-एक सिट रहेको छ ।
चिकित्सा अध्ययनका लागि आफ्नै प्रदेशमै अवसरका साथै देशभरका विद्यार्थीहरूलाई आकर्षित गर्ने सम्भावना पनि बढाएको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बताउँछन् । उनी भन्छन्, ‘मुख्यमन्त्री हुँदा सुरुवात गरेको यो प्रतिष्ठानले उत्पादन गरेको जनशक्तिले स्वास्थ्य सेवा प्रदान गर्न अब धेरै समय लाग्दैन ।’
स्वीकृत सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिएको यस कदमले प्रतिष्ठान प्रदेशकै स्वास्थ्य शिक्षा र अनुसन्धानको स्थानको रूपमा स्थापित हुने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा बताउँछन् ।
प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तारसँगै विशेषज्ञ चिकित्सक उत्पादन, गुणस्तरीय उपचार सेवा र आधुनिक अनुसन्धान प्रवद्र्धन गर्दै आएको पनि उनको भनाई छ ।
















