मकवानपुर । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेका विभिन्न शैक्षिक कार्यक्रमहरुको अनुगमनमार्फत जानकारी लिएका छन् ।
मन्त्री थापाले प्रतिष्ठानका कक्षाहरु सञ्चालनमा रहेका नलेज भिलेज, गौरीटार र हुप्रचौर तथा अनुसन्धान केन्द्रको अवलोकन गरे ।
प्रतिष्ठानले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै उनले यसलाई स्थापित गर्न सरकार प्रतिवद्ध रहेको सुनाए । नयाँ भवन निर्माण गरी अब आफ्नै भवनबाट कक्षा सुचारु गराउने पनि उनले जानकारी दिए ।
चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानलाई ५० सिटका लागि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने स्वीकृति प्रदान गरिसकेको छ । यसअघि नै यहाँ बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ र ब्याचलर अफ फार्मेसी जस्ता स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेका छन् ।
यसबाहेक यसै शैक्षिक वर्षदेखि प्रतिष्ठानमा मास्टर तहका सात विषय स्त्री तथा प्रसूति, फिजिसियन,जनरल सर्जरी,बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा अध्यापन सुरु हुने भएको छ ।
अनुगमनमा मन्त्रालयका सचिव डा.सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साल उपस्थित थिए ।














