काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसो लागू गरिएको कर्फ्यु हटाएको छ । अब कर्फ्यु आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै लागू हुनेछ ।
दिउँसोको समयमा कर्फ्यु हटाउने क्रममा सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र निषेधाज्ञा जारी गरिएको छ ।
जेनजी युवाहरुको प्रदर्शन हिंसात्मक भएपछि लागू गरिएको कडाइलाई क्रमशः खुकुलो पार्दै लगिएको हो । आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएपछि ११ बजेदेखि बेलुकी ५ बजेसम्म पुनः लागू गरिएको सेनाले जनाएको छ ।
यस निर्णयपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । अघिल्लो दिनको तुलनामा आज बिहान सवारीसाधनको चाप बढेको देखिएको छ ।
भदौ २३ गते जेनजी युवाहरुले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो । सुरुवातमा सेनाले देशभर कर्फ्यु आदेश जारी गरे पनि अहिले काठमाडौँ उपत्यकामा मात्र सीमित गरेको हो । उपत्यका बाहिरका केही जिल्लामा भने जिल्ला प्रशासन कार्यालयमार्फत कर्फ्यु र निषेधाज्ञा जारी गरिएको छ ।
सरल भाषामा भन्दा, निषेधाज्ञा लगाउनुको उद्देश्य भिडभाड नियन्त्रण गर्नु हो भने कर्फ्यु भने आवतजावत र हिँडडुल नै रोक्ने कडा आदेश हो ।
















