मकवानपुर । आगामी असोज १६ गते बिहान ११ः५३ बजे यस वर्षको बडादशैंको टीकाको उत्तम साइत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अध्यक्ष शम्भु प्रसाद ढकालका अनुसार विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत निर्धारण गरिएको छ। देवी विसर्जन सम्पन्न भएपछि दुर्गा भवानीको प्रसाद ग्रहण गरी टीका लगाउने परम्परा भए तापनि धार्मिक विधि अनुसार उत्तम साइत चाहनेका लागि बिहान ११ः५३ बजेलाई विशेष शुभ घडीका रूपमा घोषणा गरिएको हो।

समितिले यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरूवात असोज ६ गते सोमबार नवरात्रारम्भसँगै हुने जनाएको छ। नवरात्रारम्भको दिन बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको शुभ साइत रहने जानकारी समितिले दिएको छ। यो दिनदेखि नै देवी दुर्गाको पूजाआराधना गर्ने कार्य आरम्भ हुने परम्परा रहिआएको छ। नवरात्रारम्भदेखि दशमीसम्म प्रत्येक दिन दुर्गा भवानीका विभिन्न रूपहरूको पूजा गरी देवीलाई प्रसन्न तुल्याउने चलन रहिआएको छ।

धार्मिक तथा सांस्कृतिक दृष्टिले बडादशैंलाई नेपालमा ठूलो पर्व मानिन्छ। घटस्थापनाका दिन घरघरमा घटमा जमाइने जमरा, नवदुर्गाको पूजाआराधना, परिवारबीचको मेलमिलाप र टीका–प्रसाद ग्रहण गर्ने परम्परा यस पर्वको विशेषता मानिन्छ।