मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रदेश सभाका उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ अनुसार राजीनामा पत्र बुझाएका हुन्।

यसअघि उनले भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा गर्ने घोषणा गरेका थिए तर आधिकारिक पत्र भने पेस गरेका थिएनन्। औपचारिक प्रक्रिया पूरा गर्दै उनले राजीनामा दिएपछि प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेश सभा सचिवालयलाई पनि पत्र पठाइएको छ।
यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ र अब नयाँ सभामुख चयनको प्रक्रिया अघि बढ्ने स्पष्ट भएको छ। प्रदेश राजनीतिमा यस घटनाले नयाँ समीकरण र बहसको सुरुवात गरेको छ।

राजीनामाको पत्रमा पाठकले आफ्नो कदमको कारण स्पष्ट पार्दै हालैको जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीले अस्वाभाविक बल प्रयोग गर्दा राष्ट्रवादी युवा कार्यकर्ताको मृत्यु भएको घटनाले आफूलाई गहिरो भावनात्मक आघात पुर्‍याएको बताएका छन्। उनले जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा रहिरहन अब उचित नहुने निष्कर्ष निकालेका कारण राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन्।

२८ पुस २०७९ मा भएको सभामुख निर्वाचनमा पाठकले ६२ मत प्राप्त गरी सभामुख पदमा निर्वाचित भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका थिए। विभिन्न राजनीतिक शक्तिको समर्थनमा सभामुख बनेका उनी हाल राजीनामापछि पदमुक्त भएका छन्।

सभामुखको राजीनामापछि अब प्रदेश सभामा राजनीतिक वातावरण फेरबदल हुने अपेक्षा गरिएको छ।