मकवानपुर । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको छ ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरिन् ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।
संविधान दिवसका अवसरमा बृहत् शान्ति र्‍याली आयोजना गरिएको छ ।
काठमाडौँको माइतीघरबाट सुरु भएको शान्ति र्‍याली भद्रकाली, सहिदद्वारा, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा संविधानविद्, पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, बुद्धिजीविलगायत विभिन्न पेसा र व्यवसायसँग आबद्ध नागरिकको सहभागिता थियो । र्‍यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
संविधान दिवसका अवसरमा निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत साता भएको जेनजीको आन्दोलनमामा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाएका छन्। जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमा पहिलो पटक भनाइ सार्वजनिक गर्दै ओलीले यस्तो बताएका हुन्। ओलीले मृतकप्रति श्रद्दाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेका छन्। उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्न आदेश नदिएकोसमेत प्रष्ट पारेका छन्।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी विशेष धातुले बनेको पार्टी भएको बताएका छन् ।
संविधान दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो बताएका हुन् ।
यस्तै, नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान परिस्थितिलाई आत्मसात् गर्दै संविधानको रक्षा र कार्यान्वयनमार्फत मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखेकी छन् ।
च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले मुलुक अहिले शोकको घडीमा रहेपनि एकताबद्ध भएर अघि बढे शोकलाई शक्तिमा बदल्न सकिने बताइन् ।
संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्‍ठ समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्न आवश्यक रहेकोमा जोड दिए ।
संविधान दिवसका सन्दर्भमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश जारी गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो सन्देशमा भनेका छन्, ‘यो सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक बधाई, साथै शुभकामना व्यक्त गर्दछु ।’

‘संविधान देशको मुल कानून हो । यो सुनौलो बिहानी ल्याउन योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु’ प्रदेश प्रमुखले सन्देशमा भनेका छन् । नेपाली जनताको संघर्ष र बलिदानबाट वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न संविधान दिवस र राष्ट्रिय दिवस मनाइरहेको उनको भनाई छ ।