मकवानपुर । देशव्यापी भएको जेनजी आन्दोलनबाट बागमती प्रदेशको राजधानी हेटौँडा पनि नराम्रोसँग प्रभावित हुन पुग्यो । प्रदेश राजधानी शहरको पालिका हेटौँडा उपमहानगरपालिकाको कार्यालयलाई आन्दोलनले ठूलो क्षति पुग्यो । आन्दोलनको उग्र रुपले हेटौँडा उपमहानगरपालिकाको कार्यालय भवनदेखि वडा कार्यालयहरुसम्म आगजनी भयो। कर्मचारीले प्रयोग गर्ने सवारी साधनदेखि नागरिक सेवामा प्रयोग हुने शवबाहनसम्म जलाइयो। प्रशासनिक कामकाजका लागि प्रयोग हुने हजारौं फाइल, कागजात र नितान्त जरुरी सरकारी दस्तावेजहरू खरानीमा परिणत भए। उपमहानगरपालिका परिसरमै हालसालै बनेको सभाहलदेखि सरसफाइका गाडीहरुसम्म जलेर नष्ट भए।
आगोका कारण भवन बाहेक मात्रै ३२ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको तथ्यांक सार्वजनिक गरिएको छ। क्षतिको यथार्थ विवरण संकलन गर्न उपमहानगरपालिकाले सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले स्थलगत अवलोकन, छलफल र विवरण संकलनपछि सार्वजनिक गरेको प्रतिवेदनअनुसार उपमहानगरपालिकामा रहेका भौतिक सामग्रीदेखि सवारी साधनसम्म गरी करिब ३२ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको देखिएको छ।
कार्यदलका संयोजक तिमल्सिनाका अनुसार कार्यालय र वडा स्तरका प्राविधिक उपकरण, फर्निचर, कम्प्युटरलगायत सामग्रीमा मात्रै करिब ९ करोड ३९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ। भौतिक पूर्वाधार, सवारी साधन, फर्निचर र उपकरण गरी समग्रमा ३२ करोड ५० लाख ७० हजार बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
हेटौंडाको ११ र १५ नम्बर वडा कार्यालयमा सबैभन्दा बढी क्षति पुगेको कार्यदलले जनाएको छ। त्यहाँका सम्पूर्ण कागजात नष्ट भएका छन्। ३ र ४ नम्बर वडा कार्यालयका भवन जोगिए पनि सामग्री बाहिर निकालेर आगजनी गरिएको कारण सम्पूर्ण कागजात र फर्निचर खरानीमा परिणत भएको छ। यस्तै, १० नम्बर र १९ नम्बर वडा कार्यालयमा आंशिक क्षति पुगेकाले अहिले कार्य सञ्चालन फेरि सुरु भएको छ। १३ र ६ नम्बर वडामा सामान्य क्षति पुगेको छ भने उपमहानगरपालिकाअन्तर्गतका तीनवटा स्वास्थ्य संस्थामा समेत आगजनीबाट ठूलो क्षति भएको छ।
४ नम्बर वडामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रभित्रै आगजनी गरी उपकरण र औषधिसामग्री नष्ट भएको पाइएको छ। त्यस्तै, १० नम्बर वडा र ३ नम्बर वडामा रहेका स्वास्थ्य संस्थामासमेत तोडफोड र आगजनी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ।
उपमहानगरपालिकाले केही समयअघि मात्रै हस्तान्तरण पाएको कृषि थोक बजारको प्रशासनिक भवनमा पनि आगजनी भएको छ। उक्त भवनमा बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यालयसमेत रहेको थियो।
समितिको प्रतिवेदनअनुसार उपमहानगरपालिकाको पूर्वाधार क्षेत्रमा मात्रै १६ करोड ३७ लाख ८८ हजार रुपैयाँ बराबरको क्षति भएको छ। ठुलो क्षति सवारी साधनतर्फ पनि भएको छ। उपमहानगरपालिका र वडा कार्यालयमा रहेका २५ वटा स्कुटर र मोटरसाइकलसहित १८ वटा अन्य सवारी साधनमा आगजनी भएको प्रतिवेदनमा उल्लेख छ। जसमा शवबाहन, सरसफाइका गाडी, ट्र्याक्टरदेखि नगरप्रहरीका सवारीसमेत जलाइएका छन्। सवारी साधनतर्फ मात्रै ६ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको मूल्यांकन गरिएको छ।
सरकारी संरचना नष्ट हुँदा सेवा प्रवाहमा ठूलो अवरोध देखिएको जनप्रतिनिधिहरू बताउँछन्। कार्यालयमा रहेका पुराना फाइलदेखि भुक्तानीका लागि राखिएका कागजातसम्म नष्ट भएपछि सामान्य नागरिकले सेवा लिन सकस भोग्नु परेको छ। उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेका अनुसार केही वडा कार्यालयहरूले अझै सेवा सुचारु गर्न सकेका छैनन् भने उपमहानगरपालिकाले भने अत्यावश्यक सेवा आगजनी भएको भवनमै सुरु गरेको छ।
स्वास्थ्य, प्रशासनिक र आर्थिक विकास महाशाखासम्बन्धी कृषि, पशुपन्छी, उद्योग तथा सहकारी क्षेत्रका सेवा पनि त्यही भवनबाटै सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिएका छन्। उनका अनुसार अब भवनको प्राविधिक परीक्षण गरेर सुरक्षित देखिएमा रङरोगनसहित पुनः प्रयोग गर्ने तयारी गरिएको छ। तर यदि भवन बस्न अयोग्य देखियो भने रातो स्टिकर टाँसिनेछ र त्यस अवस्थामा वैकल्पिक स्थानबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ।
आन्दोलनको क्रममा भएको आगजनीले हेटौंडा उपमहानगरपालिकालाई आर्थिक, प्रशासनिक र संरचनागत रुपमा ठुलो संकटमा धकेलेको छ। क्षतिको भार र त्यसले ल्याएको अवरोध अझै पूर्ण रुपमा सम्बोधन हुन सकेको छैन।
















