मकवानपुर । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वमा बनेको सरकारले आगामी दिनमा लिने दिशा, प्राथमिकता र जिम्मेवारीबारे प्रस्ट पारेकी छन् ।
बुधबार पहिलोपटक सम्बोधन गर्दै उनले भदौ २३ र २४ गते जेनजीको अगुवाइमा भएको आन्दोलनपछि नयाँ राजनीतिक परिस्थितिको परिणामस्वरूप आफू प्रधानमन्त्री बनेको स्मरण गर्दै प्रमुख कार्यभार प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु रहेको बताइन् । कार्कीले छ महिनाभित्रै निर्वाचन गराउने सरकारको दृढ संकल्प प्रस्तुत गर्दै निर्वाचनको प्रक्रिया, कानुनी प्रावधान र मताधिकार सुनिश्चितताबारे नागरिकलाई जानकारी दिइन् ।
हालको निर्वाचन कानुनमा आवश्यक संशोधन अध्यादेशमार्फत गरिएको स्पष्ट पार्दै विशेषतः जेनजी समुदायलाई मताधिकार दिलाउने र मतदाता नामावली अद्यावधिक गर्ने काम पूरा भएको उनले बताइन् । विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले राष्ट्रिय जीवनमा समावेशी अधिकारको अभ्यासलाई सुनिश्चित गर्न सरकार सचेत रहेको बताइन् ।
उनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै सम्पूर्ण नागरिकलाई सहभागी हुन आह्वान गरिन् । लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता अनिवार्य रहेको भन्दै उनले निर्वाचनमार्फत मुलुकले नयाँ राजनीतिक भविष्य तय गर्ने अवसर पाउने विश्वास व्यक्त गरिन् ।
सम्बोधनका क्रममा कार्कीले आन्दोलनका क्रममा देखिएका अन्याय र दमनबारे पनि कुरा गर्दै दोषीमाथि निष्पक्ष छानबिन हुने प्रतिबद्धता जनाइन् । कुनै पनि राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीसँग घुस मागेमा तत्काल हटलाइनमार्फत जानकारी दिन आग्रह गर्दै उनले शुद्ध, पारदर्शी र जवाफदेही शासनको आधारमा सरकारले काम गर्ने स्पष्ट सन्देश दिइन् ।
उनले निर्वाचन प्रणाली र शासकीय स्वरूपमा आवश्यक परे संविधान संशोधन गर्नुपर्ने तर त्यो कार्य अन्तरिम सरकारको अधिकारक्षेत्रमा नपर्ने भएकाले आगामी निर्वाचनपछि बन्ने संसदले मात्रै त्यो निर्णय गर्न सक्ने बताइन् । यसरी, आफूले नेतृत्व गरेको अन्तरिम सरकार जनताको अधिकार र विश्वासलाई संस्थागत गर्दै लोकतान्त्रिक प्रक्रियाको सफलताप्रति प्रतिबद्ध रहेको कार्कीले राष्ट्रलाई आश्वस्त तुल्याइन् ।
















