मकवानपुर । बडादशैंअन्तर्गत नवरात्रको आठौँ दिन आज देशभरका दशैंघर र पूजाकोठामा महागौरी देवीको विशेष पूजा आराधना भइरहेको छ । वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरीको विधिपूर्वक पूजा गर्ने चलन रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले अष्टमीको पूजा नवौँ दिन परेको हो ।
धार्मिक किंवदन्तीअनुसार महागौरी देवीको रङ पहिला केही कालो थियो । भगवान् शिवले ख्यालठट्टामा उनलाई ‘ए काली’ भनेर सम्बोधन गर्दा देवीलाई त्यो मन नपरेपछि कठोर तपस्या गरेर उनले गोरो वर्ण प्राप्त गरेको र त्यही कारण महागौरी नाम रहन गएको पुराणमा उल्लेख पाइन्छ । पुराण र अन्य शास्त्रीय ग्रन्थअनुसार देवी सेतो वृषभमाथि आरूढ, श्वेतवस्त्र धारण गरेकी, गोरो वर्णकी र हातमा त्रिशूल तथा डमरु समाएको स्वरूपमा चित्रित गरिएको पाइन्छ ।
यस वर्ष नवरात्रको प्रारम्भ असोज ६ गते सोमबार घटस्थापनासँगै भएको थियो । त्यस दिन दशैंघर वा पूजास्थलमा वैदिक विधिपूर्वक घटस्थापना गरेर जौको जमरा राखिएको थियो र नवदुर्गामध्ये पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा गरिएको थियो । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले फेरि कुष्माण्डा देवीकै विशेष पूजा गरिएको थियो । छैटौँ दिन स्कन्दमाता, सातौँ दिन कात्यायनी, आठौँ दिन कालरात्रि देवीको पूजासहित फूलपाती भित्र्याइएको थियो ।
यसरी क्रमशः आज अष्टमीका दिन महागौरी देवीको पूजा सम्पन्न हुँदैछ भने नवमीका दिन सिद्धिदात्री देवीको आराधना गरिनेछ । नवरात्रको अवसरमा दशैंघरमा मात्र नभई देशभरका शक्तिपीठ र देवीमन्दिरहरूमा चण्डी, श्रीमद्देवीभागवत र विभिन्न देवी स्तोत्र पाठसँगै विशेष पूजा आराधना हुने परम्परा छ । धार्मिक विश्वासअनुसार देवी महागौरीको पूजा आराधना गरे शक्ति, विद्या र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।
दशैंलाई दुर्गा पक्ष पनि भनिन्छ, जसमा नौ दिनसम्म प्रत्येक दिन फरक-फरक रूपको दुर्गा देवीको आराधना गरिन्छ । शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नौ रूपलाई नवदुर्गा भनिन्छ । नवरात्रभर पूजाआराधना गरेर प्राप्त गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रयोग गर्ने परम्परा छ, जसअनुसार नेपालीहरूले पन्ध्र दिनसम्म बडादशैं मनाउने गर्दछन् ।
यस अवसरमा मकवानपुरको हेटौँडा, काठमाडौं उपत्यकाका शक्तिपीठ मात्र नभई देशभरका देवीस्थानहरूमा पनि भक्तजनको भीड लाग्ने गर्छ । फूलपातीका दिनदेखि सार्वजनिक बिदा हुने भएकाले देशभरका शक्तिपीठ र मन्दिरमा विशेष रौनक छाउने परम्परा रहेको छ ।
















