मकवानपुर । आश्विन शुक्ल नवमीका दिन आज देशभर महानवमी पर्व मनाइँदैछ। यस दिन भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। धार्मिक विश्वासअनुसार यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्नेछन्।
चार हातमा चक्र, गदा, शंख र कमल पुष्प धारण गरेकी तथा कमलासनमा विराजमान सिद्धिदात्रीको दर्शनले मनोरथ पूर्ण हुने आस्था रहेको छ। महानवमीमा अघिल्लो दिनको कालरात्रि पूजनको पूर्णताका लागि हवन गर्ने परम्परा रहिआएको छ। यस अवसरमा खिर, तिल र घिउ मिसाइएको चरु देवीलाई अर्पण गरिन्छ।
यस दिन शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा समेत कायम छ। शाकाहारी वा बलि नदिनेहरूले भने कुभिण्डो, घिरौँला र नरिवल चढाउने प्रचलन छ। त्यस्तै, लौकिक रूपमा आफ्ना सवारीसाधनको पूजा गर्ने चलन पनि यसै दिन गरिन्छ।
नवरात्रको अवसरमा शक्तिपीठ दर्शन गर्ने क्रम महानवमीमा अझै बढ्ने गर्छ। यो दिन तलेजुको मन्दिर समेत सर्वसाधारणका लागि खुला हुन्छ। नवरात्रमा दुर्गाका नौ स्वरूपसँगै महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि आराधना गरिन्छ। तिनलाई क्रमशः शक्ति, श्री र विद्याका प्रतीकका रूपमा मानिन्छ।
नवरात्रका नौ दिनसम्म चल्ने अनुष्ठान महानवमीमा सम्पन्न हुने परम्परा छ। तर, नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहानमात्र लगाइन्छ। आश्विन शुक्ल प्रतिपदादेखि स्थापना गरिएको घडाको जल अभिषेक गरी देवीको प्रसाद फूल, अक्षता तथा जमरा मान्यजनबाट ग्रहण गर्ने प्रथा कायम छ।

















