मकवानपुर । आज आश्विन शुक्ल दशमीका दिन देशभर विजयादशमी अर्थात् दशैंको मुख्य दिन मनाइँदैछ। यस अवसरमा आफ्ना मान्यजनका हातबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा मनाइन्छ। धार्मिक परम्परा अनुसार भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको वा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा दशैं मनाउने चलन स्थापित भएको हो।

यस वर्षको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। तर, दशमी आफैंमा शुभ दिन भएकाले साइत कुर्न नपरी दिनभर टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले जानकारी दिएका छन्। उनले भने, ‘राज्य सञ्चालकले मात्र साइतमै टीका लगाउनुपर्ने चलन हो। साइतमै लगाउँदा प्रभु, मन्त्र र देवीको शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।’

दशैंमा घटस्थापनादेखि राखिएको जमरा वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाइन्छ। आज नभ्याउनेहरूले भने कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्ने व्यवस्था छ। समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ३३ मिनेटमा रहेको पनि जनाएको छ।

धार्मिक मान्यता अनुसार टीका लगाउँदा लगाइदिने मान्छे पश्चिम फर्केर र ग्रहण गर्ने पूर्व फर्केर बस्दा शुभ हुने विश्वास छ। आजका दिन गुरु पुरोहित, हजुरबा–हजुरआमा, आमाबाबु र मान्यजनका हातबाट टीका, जमरा र प्रसाद ग्रहण गर्दै दीर्घायु, ऐश्वर्य र शक्ति प्राप्त होस् भनी आशीर्वाद लिने परम्परा रहिआएको छ।

टीका लगाउँदा विशेष मन्त्र उच्चारण गरी आशीर्वाद दिने गरिन्छ। पुरुषलाई द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु, रामको जस्तो शत्रु नाश, नहुषको जस्तो ऐश्वर्य, भीष्मको जस्तो शुरता, बलरामको जस्तो बल, कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी आशीर्वाद दिने गरिन्छ। महिलालाई भने दुर्गा देवीको स्वरूप मानी ‘जयन्ती मङ्गला काली’ मन्त्र उच्चारण गरेर आशीर्वाद दिन्छन्।

नेपालका केही स्थानमा कुल परम्परा अनुसार दशमीकै दिन टीका–जमरा ग्रहण गर्ने प्रथा छ भने अधिकांश स्थानमा कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट प्रसादस्वरूप टीका–जमरा ग्रहण गर्ने चलन रहेको छ।