मकवानपुर । अविरल वर्षाका कारण मकवानपुर प्रशासनले हेटौंडा र काठमाडौंलाई जोड्ने सबै मुख्य तथा वैकल्पिक सडकमार्गमा सवारीसाधन सञ्चालन तीन दिनका लागि पूर्ण रूपमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधनलाई सञ्चालन गर्न नपाइने जनाएको हो। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार, लगातारको वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिम भएकाले विपद् जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो।

हेटौँडा-काठमाडौं आवागमनका लागि मुख्य चारवटा मार्ग प्रयोग हुँदै आएका छन् -देशकै पुरानो त्रिभुवन राजपथ (हेटौंडा-नौबिसे खण्ड), ललितपुरको सातदोबाटो हुँदै जोडिने कान्तिलोकपथ, कुलेखानी-फाखेल-फर्पिङ मार्ग, र कुलेखानी-सिस्नेरी-फर्पिङ सडक। त्रिभुवन राजपथ बाहेकका वैकल्पिक सडकमार्गहरूबाट दैनिक एक हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेको प्रशासनले जनाएको छ।

सडक बन्दको निर्णयसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरू सक्रिय बनेका छन्। राजधानीतर्फ गइरहेका सवारीसाधनलाई मुख्य तथा वैकल्पिक मार्गमै रोकी फिर्ता पठाउने कार्य तीव्र गतिमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।