मकवानपुर । बागमती, मधेश र कोशी प्रदेशमा गएरातिसम्म व्यापक वर्षा भएकोमा अहिले पानी पर्नेको तीव्रता क्रमशः घट्दै गएको छ। ठूलो पानी पार्ने मौसमी प्रणाली अहिले कोशी प्रदेशमा मात्र केन्द्रित रहँदा अन्य प्रदेशमा वर्षा कम हुन थालेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार ठूलो वर्षा पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको र अब ठूलो वर्षाको सम्भावना नरहेको भए पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहन सक्ने देखिएको छ।
विभागका तथ्यांक अनुसार बितेका २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका विभिन्न स्थानमा ठूलो वर्षा मापन गरिएको छ। अहिले बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बुढी खोला र बिरिङ खोलासहित आठ नदीका बाढी मापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ।
कोशी, मधेश र बागमती प्रदेशका अन्य नदी-नालाहरूमा पनि बहाव सतर्कता तह नजिक पुगेको विभागले जनाएको छ। पानी रोकिए पनि बाढीको जोखिम अझै कायम रहेको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले बताए । उनका अनुसार बाढी घट्न केही घण्टा लाग्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
यस्तै, मौसमविद् उज्जवल उपाध्यायले कोशी प्रदेशका पहाडी जिल्लामा आज बेलुकीसम्म सतर्कता अपनाउन सुझाव दिए । उनका अनुसार सप्तकोशीको बहाव अझै बढ्न सक्ने देखिएको छ भने त्रिशूली, मस्र्याङ्दी, भोटेकोशी, सुनकोशी र रोशीमा पानीको बहाव क्रमशः घट्दै जाने अनुमान गरिएको छ।
कोशी बाहेकका राजमार्गहरूमा यातायात सञ्चालन सुचारु हुन सक्ने भए पनि लगातारको वर्षाले गलेका पहाडी क्षेत्रमा आज दिनभर पहिरोको जोखिम कायम रहने उपाध्यायले उल्लेख गरे ।















