मकवानपुर। चाडपर्व नजिकिँदै गर्दा अवैध रुपमा भित्र्याइएका ठूलो मात्राका पटाका हेटौँडामा बरामद भएका छन्। प्रहरीले शुक्रबार बिहान हेटौँडा–१५ रातोमाटेबाट करिब २० लाख रुपैयाँ मूल्यका पटाकासहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वीरगंजबाट हेटौँडा आउँदै गरेको मधेश प्रदेश–०३–००१ च ९०२३ नम्बरको योद्धा गाडीमा लुकाइएका ती पटाका रातोमाटेस्थित चार्जिङ स्टेशन नजिकै बरामद गरिएको हो। पक्राउ पर्नेमा रौतहट, वृन्दावन–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र गरुडा–४ का ३१ वर्षीय विजय साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीका अनुसार गाडीको थप जाँचका क्रममा राजस्व नतिरेको १४ लाख रुपैयाँ बराबरको कपडा पनि बरामद गरिएको छ। ती कपडामध्ये १ सय ३० थान सारी, ६ सय ९६ थान कुर्था र १ सय ७५ थान टप्स रहेका छन्।
यसअघि बुधबार पनि प्रहरीले २८ लाख ७० हजार रुपैयाँ बराबरको राजस्व छलीको सामान बरामद गरेको जनाएको थियो। उक्त घटनामा लु २ख ४०४१ नम्बरको कन्टेनर ट्रकसहित चालक, वीरगंज–१४ पिपराका ४५ वर्षीय हीरालाल प्रसाद कुर्मीलाई नियन्त्रणमा लिइएको थियो।
















