मकवानपुर । मकवानपुरमा पत्रकारहरुका लागि ५० हजार रुपैयाँ राशीको पुरस्कार स्थापना गरिएको छ ।
नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको राशी बढाइएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीवी ढकालले प्रेस युनियन मकवानपुरका प्रतिनिधीसँग हेटौँडामा छलफल गर्दै आगामी वर्षदेखि पुरस्कार राशी ५० हजार रुपैयाँ पुर्याउने घोषणा गरे । यस अघि यो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको थियो ।
यस पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन् ।
पुरस्कार प्रायोजक ढकालले पत्रकारहरुलाई संगठित हुँदै व्यावसायिक नेतृत्व विकासमार्फत युनियनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सम्मान सुदृढ गर्न युनियनको भूमिकाको प्रशंसा गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले पत्रकारिता पुरस्कारको राशी क्रमश बढाउँदै लैजानलाई समेत आग्रह गरेका छन् । पत्रकारितालाई मूल पेशा बनाई आफ्नो कर्ममा निरन्तर लागिरहेका मकवानपुरका पत्रकारहरुलाई नगद ५० हजार रुपैँयासहित सम्मान गर्न प्रेस युनियनकर्मीका लागि समेत गर्वको विषय भएको उनले बताए ।
अध्यक्ष बिडारीका अनुसार युनियनले प्रत्येक दुई वर्षमा विेशेष कार्यक्रममार्फत यो पुरस्कार प्रदान गर्नेछ ।
















