मकवानपुर । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा सात सदस्यीय मन्त्रिमण्डल थियो । अहिले नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको प्रदेश सरकारमा १४ जना मन्त्री छन् । नेपाली कांग्रेस र एमाले गठबन्धनमा रहेको प्रदेश सरकारको मन्त्रिमण्डललाई डोरमणिकै पालाको जस्तो आकारमा लैजान यतिबेला दबाब परेको छ ।
प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले यसका लागि सुझाव समेत दिइसकेको छ । जेनजी आन्दोलनले पुगेको क्षति पुनःनिर्माणका लागि र नागरिकमा सुशासनको पत्याभुतीका लागि भएपनि मन्त्रालयको संख्या घटाउनुपर्ने माओवादीको माग छ ।
मुख्यमन्त्री बानियाँ मन्त्रालयको संख्यामात्र होइन प्रदेश सरकार अन्तर्गतका केही प्रभावहीन कार्यालयलाई मर्जर, खारेज गर्ने तयारीमा रहेको समेत चर्चा छ । यसका लागि सत्तारुढ एमालेलगात प्रदेशका अरु दलसँग संवादमा रहेको पनि बताइन्छ ।
बागमतीमा अहिले कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित ८ र एमालेले ६ वटा मन्त्रालय सम्हालिरहेको छ ।
















