मकवानपुर । इजरायलले नेपालका विपिन जोशीसहित २२ जना बन्धकहरू जीवितै रहेको विश्वास व्यक्त गरेको छ।
वासिङ्टन पोस्टले एपीको सहयोगमा प्रकाशित गरेको समाचारअनुसार, हाल पनि ती बन्दीहरू गाजामा जीवित रहेको इस्रायली अधिकारीहरूको अनुमान छ।
तेल अवीभस्थित एपीका रिपोर्टर मेलानी लिडम्यान र स्याम मेट्जले तयार पारेको रिपोर्टमा २४ वर्षीय नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको विश्वासका आधारहरू उल्लेख गरिएको छ। यसअघि हमासले सार्वजनिक गरेको बन्दीहरूको सूचीमा पनि विपिनको तस्वीर समावेश गरिएको थियो।
हालै सुरु भएको गाजाको युद्धविराम करिब दुई वर्ष लामो विनाशकारी युद्ध अन्त्यतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। उक्त युद्ध ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको थियो। त्यस हमलामा करिब १,२०० जना मारिएका र २५१ जना अपहरणमा परेका थिए।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा परी ६७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ, जसमा आधा महिला र बालबालिका छन्। करिब २० लाख जनसंख्या भएको गाजामा ९० प्रतिशतभन्दा बढी मानिस विस्थापित भएका छन्।
हाल ४८ जना बन्धकहरू गाजामा रहेका बताइएका छन्, जसमा अघिल्लो युद्धमा मारिएका एक सैनिकको शव पनि समावेश छ। इजरायलले २५ जना बन्धकहरूको मृत्यु भएको पुष्टि गरिसकेको छ, बाँकीमध्ये कति जीवित छन् भन्ने स्पष्ट छैन।
युद्धविराम सम्झौताअनुसार विपिनसहित बाँकी बन्दीहरूलाई ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरिएको छ। यसको बदलामा इजरायलले करिब २,००० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। तर, हमासले समय थप मागेको बताइएको छ।
विपिन अपहरणमा परेको आज ३३७ दिन पूरा भएको छ। उनी आक्रमण हुनुअघि एक महिना अघिमात्र कृषि अध्ययनका लागि इजरायल पुगेका थिए। आक्रमणका क्रममा सहभागी १७ नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो।
विपिनकी १७ वर्षीया बहिनी पुष्पा जोशी दाजुको मुक्ति अभियानमा सक्रिय छन्। उनी हप्तामा एकपटक पश्चिम नेपालबाट बस चढी काठमाडौं पुगेर अधिकारीहरूसँग भेट गर्छिन्। गत अगस्टमा परिवारले इजरायल यात्रा गरी तेल अवीवको ‘होस्टेज स्क्वायर’ मा अन्य परिवारहरूसँग प्रदर्शनमा पनि सहभागिता जनाएका थिए।
















