मकवानपुर । आज छठ पर्वको मुख्य दिन । साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व समापन गरिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ दिने यो अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। ब्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिने तयारी गरेका छन्।
राजधानी काठमाडौंका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत स्थानमा छठ पूजाका लागि विशेष मण्डप र पूजास्थल निर्माण गरिएको छ। तराई क्षेत्रमा विशेष रूपमा मनाइने यो पर्व पछिल्ला वर्षहरूमा पहाडी र हिमाली क्षेत्रमा पनि उल्लासपूर्वक मनाइने परम्परा बढ्दो छ। यसले सामाजिक सद्भाव र एकताको सन्देश फैलाएको छ।
छठ पर्व विधिपूर्वक सम्पन्न गर्नाले मनोकामना पूरा हुने, परिवारको कल्याण हुने र दुःख–कष्ट हट्ने जनविश्वास रहँदै आएको छ। व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान अपनाई शुद्ध भएर बस्ने गर्छन्। केहीले कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ त्यागी सात्विक भोजन गर्ने परम्परा पालना गर्छन्। यही कारण यो पर्व अत्यन्त पवित्र र भक्तिपूर्वक मनाइने चाडको रूपमा स्थापित भएको छ।
















