मकवानपुर । बागमती प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनाका लागि विज्ञ टोली निर्माण गरेको छ ।
प्रदेश सरकारले नेपाल सरकारका पूर्व सचिवहरूको विज्ञ टोली गठन गरेको हो। तीन महिनाभित्र अध्ययन र सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित पूर्व सचिव बिमल वाग्ले संयोजक रहने गरी उक्त टोली बनाइएको हो।
उच्चस्तरीय अध्ययन समितिको ११ कात्तिकमा काठमाडौंमा बसेको बैठकले विज्ञ टोली गठन गर्ने निर्णय गरेको हो। बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख सचिव भुपाल बराल पनि सहभागी थिए।
वाग्ले संयोजकत्वको टोलीमा पूर्व सचिवहरू रेश्मीराज पाण्डे, गोपीकृष्ण खनाल, जीवनप्रभा लामा सदस्य र बागमती प्रदेशका सचिव पूर्णबहादुर दर्जी सदस्य सचिवका रूपमा रहेका छन्। टोलीलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
उच्चस्तरीय अध्ययन समितिका संयोजक तथा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलका अनुसार विज्ञ टोलीले मन्त्रालयअन्तर्गतका कार्यालयहरूको आवश्यकता निर्धारण, मन्त्रालय संख्या घटबढका सुझाव र कर्मचारी संरचना पुनर्संरचनाका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सहितको प्रतिवेदन सरकारलाई बुझाउनेछ।
मन्त्री पौडेलले विज्ञ टोली कार्यकारी रूपमा काम गर्ने र अध्ययन–सुझावको आधारमा सुधार प्रक्रिया अघि बढाइने बताए। आगामी शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले विज्ञ टोलीका सेवासुविधा लगायतका विषयमा औपचारिक निर्णय गर्नेछ।
यसअघि ३ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेलको संयोजकत्वमा प्रशासनिक पुनर्संरचनाका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो। उक्त समितिमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, वनमन्त्री भरत केसी, उद्योगमन्त्री बिन्दु श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाही सदस्य र उद्योग मन्त्रालयका सचिव हेमराज भुषाल सदस्य सचिवका रूपमा छन्।
प्रदेश सरकार स्थापनाको आठ वर्षपछि पहिलो पटक सम्पूर्ण प्रादेशिक संरचना पुनर्संरचना गर्ने तयारी भएको हो। यसअघि सत्ता सन्तुलनका नाममा बढाइएका मन्त्रालय संख्या र अनावश्यक कार्यालयहरू खारेज गर्ने योजनासहित साना मन्त्रालय र दोहोरो काम गर्ने निकाय हटाइने उच्चस्तरीय समिति सदस्य तथा अर्थमन्त्री प्रभात तामाङले बताए।















