काठमाडौँ । आफैँले जन्माएको पार्टीबाट अलग भएका रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
चौधरीले गठन गरेको पार्टीको नाम हो –नागरिक उन्मुक्ति पार्टी नेपाल । उनी आफैं संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट केही समय अघि अलग भएका थिए । चौधरीलृ बिहीबार निर्वाचन आयोगमा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित दल दर्ताका लागि निवेदन दिएका हुन् । उनको नयाँ पार्टीमा हालसालै डा. सीके राउत नेतृत्वको जनमत पार्टी छाडेका अब्दुल खान वरिष्ठ उपाध्यक्षको भूमिकामा छन् ।
यस्तै, पार्टीको महासचिवमा उमाशंकर चौधरी छन् । कार्यसमितिमा रेशम चौधरी आफू पनि छैनन् र परिवारका कसैलाई पनि राखेका छैनन् । पार्टी नेतृत्वलाई लिएर विवाद भएपछि चौधरी पार्टीबाट अलग भएका थिए । नयाँ पार्टीको अध्यक्षमा कबीर सोप रहेका छन् । उनी जेनजी पुस्ताका हुन् ।
जेलमै रहेका बेला रेशमले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष राखेर २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए । यसपछि २०७९ को चुनावमा भाग लिएको पार्टीले राम्रै नतिजा पनि ल्याएको थियो ।















