मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफूले प्राप्त गर्ने सेवा सुविधापतको रकमबाट विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गरेका छन् । मनहरी ४ मा रहेको २३ जना विपन्न तथा दलित विद्यार्थीलाई सोमबार पोसाक हस्तान्तरण गरिएको हो ।

विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम उद्घाटनकाबीच अध्यक्ष कालाखेतीले ४३ हजार मूल्य बराबरको पोसाक वितरण गरेका हुन् । विद्यालयले विपन्न विद्यार्थी पहिचान गरि सिफारिस गरेबमोजिम आफ्नो तलब भत्ताको रकमबाट उक्त सहयोग गरिएको अध्यक्ष कालाखेतीले बताए । २०७९ सालमा अध्यक्ष निर्वाचित हुँदै गर्दा कालाखेतीले आफूले पाउने तलब भत्ता विपन्न गाउँबासीका लागि खर्च गरिने उद्घोष गरेका थिए । सोही उद्घोषबमोजिम उनले मनहरी ५ मा एक विपन्न एकल महिलाको घर निर्माण गरिसकेका छन् भने ६ नम्बर वडामा पनि घर निर्माणको काम चलिरहेको छ ।

पशुपति माविले संवरण महोत्सवका अवसरमा आयोजिक सप्ताहव्यापी कार्यक्रम सोमबार अध्यक्ष कालाखेतीले विद्यालय प्राङ्गणमा झन्डोत्तोलन गरी उद्घाटन गरेका हुन् । संवरण महोत्सवको उद्घाटनसँगै विद्यार्थीहरुबीच चम्चा दौड, बोरा दौडलगायतका प्रतियोगिता गरिएको छ । विभिन्न कार्यकम गरि मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्धारा समापन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमले जानकारी दिए । विव्यस अध्यक्ष गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मनहरी ४ का वडाध्यक्ष प्रकाश थापा, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष पवन खड्कालगायतको आतिथ्यता रहेको थियो ।