नेपाल र इजरायलका तर्फबाट विद्यार्थी आदानप्रदान सम्बन्धी सम्झौता गर्दै आराभा इन्टरनेशनल सेन्टर फर एग्रीकल्चर ट्रेनिङ(आइक्याट) र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडका प्रतिनिधी ।

मकवानपुर । नेपाली कृषि विद्यार्थीलाई इजरायलमा उन्नत कृषि तालिम लिने अवसर प्राप्त भएको छ । इजरायलमा आधुनिक कृषि अध्ययन गरी फर्किएका विद्यार्थी तथा एनआरएनहरूले स्थापित गरेको देशकै ठूलो र एक मात्र पब्लिक कम्पनी आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेड अन्तर्गत सञ्चालित व्यावसायिक इनकुबेसन सेन्टरमार्फत यो अवसर उपलब्ध भएको हो।

नेपालको व्यवसायिक तालिम परिषद्को सम्बन्धनमा सञ्चालनमा रहेका प्राविधिक शिक्षालयबाट आइएससी (प्लस टु), भेटेरीनरी, जेटीए, वन विज्ञान, दुग्ध विज्ञान, आयुर्वेदिक औषधालय लगायतका विषयमा सोह्र महिना वा बढी अवधिको औपचारिक शिक्षा पूरा गरेका विद्यार्थी यसमा सहभागी बनेका छन् ।

त्यस्तै, जुनसुकै संकायमा प्लस टु उत्तीर्ण गरेका तथा गण्डकी प्रदेश सरकार, कर्णाली प्रदेश सरकार, नेपाल आर्मी र कल्याणकारी कोषसँग सहकार्यमा सञ्चालित ‘लर्न एन्ड डु’ कार्यक्रमका प्रशिक्षार्थी विद्यार्थीलाई पनि २०२५–२०२६ का लागि यो तालिममा सहभागी हुने अवसर प्रदान गरिएको छ।

कम्पनीले संघीय सरकारका अलावा गण्डकी प्रदेश सरकार, कर्णाली प्रदेश सरकार, नेपाल आर्मी कल्याणकारी कोष तथा विभिन्न प्रदेश र पालिकासँग सहकार्य गर्दैै यस वर्ष दुई सय जना विद्यार्थीलाई इजरायलको परराष्ट्र मन्त्रालयमार्फत ११ महिनाका लागि ‘सिक्दै–गर्दै’ कार्यक्रम अन्तर्गत यो अवसर प्रदान गरिएको हो ।

यस वर्ष त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्व विद्यालय, कृषि तथा वन विज्ञान विश्व विद्यालय, (एएफयु) का विद्यार्थीलाई कार्यक्रमले समेटेको जनाइएको छ ।

आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद बजगाईँका अनुसार देशको हिमाल, पहाड र तराईका क्षेत्रका विद्यार्थीलाई समेट्दै समावेशी रूपमा इजरायलको उन्नत कृषि तालिममा अवसर प्रदान गरिएको हो । यो अवसर विशेषगरी औपचारिक रूपमा कम्तीमा १२ कक्षा वा सोभन्दा माथि कृषि शिक्षा हासिल गरेका मेहनती किसानका छोराछोरीका लागि तयार पारिएको अध्यक्ष बजगाईँको भनाई छ ।

यसमा सन् २०२३ अक्टोबरपछि तालिम पूरा नगरी नेपाल फर्किएकाहरु छन् । थप अनुभव लिन र पुनः इजरायल फर्किन इच्छुक ती विद्यार्थीलाई पुनः अवसर प्रदान गरिएको कम्पनीको भनाई छ । इजरायलले वर्षौँदेखि नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमा यस प्रकारको अवसर प्रदान गर्दै आएको सन्दर्भमा हिब्रु विश्वविद्यालय, तेल अविभ विश्वविद्यालयलगायतका शीर्ष विश्वविद्यालयले स्नातकोत्तर तहसहित उच्च शिक्षा गर्न उत्कृष्ट छात्रवृत्ति उपलब्ध गराइरहेका छन् । यस कार्य नेपालीहरूका लागि गर्वको विषय बनेको बजगाईँ बताउँछन् ।

आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेड तथा अन्य कृषि अध्ययन संस्थाबाट प्रशिक्षणरत विद्यार्थीहरू पनि चयन भएका हुन् । कम्पनीले किब्बुट्ज, मोशाभ अफ इजरायलसँगको सहकार्यमा लामो समयदेखि इजरायली कृषि प्रविधि तथा व्यावहारिक तालिम नेपाली कृषि क्षेत्रमा भित्राउँदै आएको छ । उनीहरूको योगदानले आधुनिक सिँचाइ प्रणाली, उन्नत हरितगृह प्रविधि र शुद्ध कृषि प्रणाली नेपालमा परिचय गराउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

तालिममा छनौट भएका नेपाली युवाहरूले आधुनिक कृषि प्रणाली, इजरायली प्रविधि, ग्रीनहाउस, पशुपालन, बोटबिरुवा व्यवस्थापन, व्यवसायिक कृषि सञ्चालन आदि विषयमा ज्ञान तथा सीप हासिल गर्नेछन् ।
यस कार्यक्रमका संयोजक र सहभागी संस्थाहरूले इजरायल सरकार, नेपालस्थित इजरायलका राजदूत श्मूलिक एरिये बास तथा सबै सहयोगी पक्षप्रति कृतज्ञता व्यक्त समेत गरेका छन् ।

नेपालस्थित इजरायल दूतावास, मोशाभ र किब्बुट्ज प्राधिकरणहरू, नेपालमा रहेका इजरायलका आधिकारिक प्रतिनिधि नरेन्द्र थापा, किन्नेरेत एकेडेमिक कलेज, एआईसीएआई, रमत नेगेभ तथा सबै साझेदार संस्थाहरूलाई अमूल्य सहयोग तथा सहकार्यका लागि धन्यवाद व्यक्त गरिएको छ ।

राजदूत बासले इजरायलले निरन्तर रूपमा नेपाललाई सहयोग गर्दै आएको तथा भविष्यमा दुवै देशबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने उल्लेख गरे । उनले इजरायलको दीर्घकालीन प्रतिबद्धता गर्दै सहकार्य बढाउने र नेपाली युवाहरूलाई उन्नत कृषि ज्ञान तथा व्यावहारिक अनुभव प्राप्त गर्न सक्षम बनाउने बताए ।

सीपमूलक दक्ष जनशक्ति उत्पादन गरी नेपालमै कृषि उद्यमशीलता विकास गर्नु यस कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । कृषि पृष्ठभूमि भएका नेपाली विद्यार्थीहरूलाई सम्बन्धित संस्थामा सहज तथा प्रभावकारी रूपमा समायोजन हुन यसले सहयोग गर्ने विश्वास लिइएको छ ।

नेपाली युवा तालिमका लागि इजरायल पुुगेपश्चात कलेजका प्रतिनिधीसँग फोटो खिचाउँदै ।

नेपाली युवा तालिमका लागि इजरायल पुुगेपश्चात फोटो खिचाउँदै ।

व्यावसायिक इनकुबेसन सेन्टरमा तालिमका क्रममा नेपाली युवाहरु ।

व्यावसायिक इनकुबेसन सेन्टरमा तालिमका क्रममा नेपाली युवाहरु ।