मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकर चुनावी अभियानलाई तीव्र बनाउँदै आज थाहा नगर पुगेका छन्। उनको सचिवालयका अनुसार प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा थोकर दैनिक रूपमा मतदाताको घरआँगनमा पुगेर प्रत्यक्ष संवादमा केन्द्रित हुँदै आएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनले जनताको विश्वास जित्ने र आफू पनि मतदातालाई भरोसा दिलाउने उद्देश्यसहित घरदैलो कार्यक्रमलाई अभियानको मुख्य आधार बनाएका छन्।
चुनावी अभियानकै क्रममा थोकर आज मकवानपुरगढी गाउँपालिका–५ आमभञ्ज्याङ, सामरी पुगेका थिए। त्यहाँ उनले स्वर्गीय अर्जुन अधिकारीको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। श्रद्धाञ्जली कार्यक्रमपछि पनि उनले आफ्नो चुनावी अभियानलाई निरन्तरता दिँदै थाहा नगरतर्फ लागेको सचिवालय स्रोतले जनाएको छ। चुनावी व्यस्तताबीच समेत सामाजिक तथा मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै पीडित परिवारसँग दुःख साटासाट गर्नु आफ्नो दायित्व भएको थोकरको भनाइ रहेको सचिवालयले जनाएको छ।

थाहा नगरपालिकामा पुगेपछि थोकर पालुङ दोबाटो, मोरिया, चौतारा, लामिचौरलगायतका विभिन्न स्थानमा जनताको घरदैलोमा सहभागी भए। उनले ती क्षेत्रमा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक धारणा र चुनावी एजेन्डाबारे स्पष्ट पारे। जनताको घरआँगनमा पुगेर मत माग्ने क्रममा आफूले अपेक्षा गरेभन्दा बढी आत्मीयता र उत्साह देखिएको थोकरले बताएका छन्। घरदैलोका क्रममा मतदातामा खुशी छाएको र खुला रूपमा आफ्ना धारणा राख्ने अवसर पाएको उनको अनुभव छ।

घरदैलो भेटघाटका क्रममा धेरै मतदाताले राजसंस्थाले मात्र जनताको रक्षा गर्न सक्ने धारणा राख्दै आफूलाई मत दिने विश्वास दिलाएको थोकरले बताए। मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै उनले बाँकी दिनहरूमा पनि जनताकै बीचमा रहेर चुनावी अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।