हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसको ४६औँ वार्षिक उत्सव सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौड्यालको सभाध्यक्षता तथा आदिकवि भानुभक्त आचार्य क्याम्पस, तनहुँका क्याम्पस चिफ महाप्रसाद हट्खलेको प्रमुख आतिथ्यतामा उक्त उत्सव सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले करिब २० वर्षदेखि स्थानीय तहकै मातहतमा रहेको क्याम्पस दिनप्रतिदिन सुधारको बाटोमा अगाडि बढिरहेको बताए।

यस्तै, अर्का वक्ता त्रिभुवन विश्वविद्यालयका डा. तारालाल श्रेष्ठले काठमाडौँ, चितवनजस्ता ठाउँका लागि यो क्याम्पस सामान्य हुन सक्ने भए पनि मकवानपुर जिल्लाका लागि मकवानपुर बहुमुखी क्याम्पस एउटा ‘संसार’ नै भएको उल्लेख गरे। त्यसैले यसको चौतर्फी विकासमा विशेष ध्यान दिनुपर्ने उनले बताए। उनले राजनीति आवश्यक विषय भए पनि शिक्षाबाट अलग राख्न सके शिक्षा क्षेत्रमा अपेक्षित विकास सम्भव हुने जिकिर गरे।

क्याम्पसका पूर्व अध्यक्ष रामचन्द्र अर्याल ‘माइकल’ले शिक्षा कहिल्यै मृत हुन नहुने धारणा राखे।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, क्याम्पस चिफ एम. सिलवाल, पूर्व क्याम्पस प्रमुखहरू लगायतले मन्तव्य व्यक्त गरेका थिए।