हेटौँडा १५ का वडाध्यक्ष सुनील मोक्तान ।

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयले वडाबासीको आधारभूत आवश्यकतालाई ध्यान दिँदै महत्वपूर्ण सामाजिक कार्यक्रम अघि बढाएको छ ।

चालु आर्थिक वर्ष २०८२ को माघ महिनादेखि प्रत्येक घरधुरीलाई १० हजार लिटर निःशुल्क खानेपानी वितरण, निःशुल्क एम्बुलेन्स सेवा तथा बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने वडाध्यक्ष सुनील मोक्तानले जानकारी दिए ।

वडाध्यक्ष मोक्तानका अनुसार यी कार्यक्रम चुनावका बेला विगतमा जनताका माझ गरिएको प्रतिबद्धता अनुसार ल्याइएको हो । ‘हामी जनप्रतिनिधि हौँ । यो हाम्रो सामाजिक दायित्व पनि हो । र, चुनावका बेला जनतामाझ गरिएको प्रतिबद्धताको कार्यान्वयन हो ।’ अध्यक्ष मोक्तानले भने ।

वडाका बासिन्दाले गरेको विश्वासको सम्मानस्वरूप सेवासुविधा विस्तार गरिएको मोक्तानले बताए । उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न वडा कार्यालय सधैं प्रतिबद्ध रहेको भन्दै काम गर्ने विषयमा वडाबासीले गरेको विश्वासको कारण यी सेवामुलक कार्यक्रम अघि बढाइएको प्रष्ट पारे । आगामी दिनहरूमा पनि जनताको आवश्यकता र सुझावका आधारमा यी र यस्ता जनमुखी कार्यक्रमलाई वडामार्फत निरन्तरता दिने उनको भनाई छ ।

वडामा सुरु गरिएको निःशुल्क खानेपानी कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको छ । यस्तै, आकश्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई तत्काल अस्पताल पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी हुने पनि अपेक्षा छ । निःशुल्क रगत उपलब्ध गराउने व्यवस्थाले आपतकालीन अवस्थामा जीवनरक्षा सहज बनाउने वडा कार्यालयको आशा छ ।