मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको पालुङका साँघुरा बाटाहरू यतिबेला चुनावी चहलपहलले भरिएका छन् । घरघरको आँगनमा राजनीतिक बहस चलिरहेको छ, चौतारोमा पुराना दिन सम्झिनेहरूको भीड छ, र गाउँका बुढापाका एउटा नाम दोहोर्याइरहेका छन्रु-पचन्द्र बिष्ट ‘रुदाने’ । मकवानपुरका दार्शनिक र जनमुखी नेताका रूपमा चिनिएका बिष्टको स्मृतिसँगै अहिले उनीहरूले अर्को अनुहार पनि देखिरहेका छन् – मकवानपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बर्तौला ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बर्तौला थाहा नगरपालिकाका गाउँटोल चहारिरहेका छन् । पालुङका बस्तीहरूमा पुग्दा उनी केवल भाषण गर्ने नेताका रूपमा देखिँदैनन्, बरु घरदैलोमा बसेर चिया पिउँदै गुनासो सुन्ने, सुझाव टिप्ने र वृद्धवृद्धासँग हात समाउँदै आशीर्वाद लिने नेताका रूपमा प्रस्तुत भइरहेका छन् । यही शैलीले स्थानीयलाई रुदानेको सम्झना गराएको हो ।
मतदातासँगको संवादमा बर्तौलाले अघिल्लो निर्वाचनका बेला गरेका प्रतिबद्धता दोहोर्याउने मात्र होइन, तिनलाई पूरा गरेको दाबी पनि गरे । ‘मैले चुनावका बेला संसदमा निदाएर बस्दिनँ, रेडियो र टेलिभिजन खोल्दा आफ्नो क्षेत्रको मुद्दा उठाएको सुन्न र देख्न पाउने गरी काम गर्छु भनेको थिएँ ।’ उनले भने, ‘त्यो वाचा मैले संसदमा देखाएको सक्रियतामार्फत पूरा गरेको छु ।’ उनको दाबी छ–‘संसदमा आफूले निरन्तर क्षेत्रका मुद्दा उठाउँदै आएको छु । र, जनताले त्यो सुनेका र देखेका छन् ।’
उनले आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा चित्लाङ-चन्द्रागिरी–थानकोट सडकलाई प्रस्तुत गरे । चुनावी सभामा उनले स्मरण गरे,‘मैले यो सडकको स्तरोन्नतिका लागि स्रोतको अभाव हुन दिन्न भनेको थिएँ ।’ ३२ महिनाको कार्यकालमै सरकारले झण्डै ६२ करोड रुपैयाँ बजेट सुनिश्चित गराएको उनले बताए । अहिले सडकको काम तीव्र गतिमा अघि बढिरहेको उनको भनाइ छ । स्थानीयका लागि यो सडक केवल बाटो होइन, बजार, स्वास्थ्य सेवा, शिक्षा र रोजगारीसँग जोडिएको आशा पनि हो ।
विगतमा चुनाव जितेपछि नेताहरू गाउँ फर्कंदैनन् भन्ने गुनासो मकवानपुरमा नयाँ होइन । तर स्थानीयका अनुसार बर्तौलाले त्यो धारणा तोडेका छन् । २०७९ को निर्वाचनपछि संसद चलेको समयबाहेक उनी अधिकांश समय गाउँमै देखिए । घरदैलोमा पुगेर समस्या सुन्ने, आवश्यक निकायसँग समन्वय गर्ने र समाधान खोज्ने काममा उनी सक्रिय देखिएको स्थानीय बताउँछन् । यही निरन्तर उपस्थितिले मतदातामा विश्वास जगाएको छ ।
एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार मतदाताहरूले बर्तौलाको सक्रियतालाई रुदानेको जनमुखी शैलीसँग तुलना गरेका छन् । बुधबार थाहा नगरका मतदातासँग भेटघाट गर्दा बर्तौलाले स्थानीयका गुनासो ध्यानपूर्वक सुने, सुझाव ग्रहण गरे र अग्रजहरूबाट आशीर्वाद लिए । चुनावी अभियानलाई उनले औपचारिक कार्यक्रमभन्दा बढी सम्बन्ध पुनःस्थापना गर्ने अवसरका रूपमा लिएको देखिन्छ ।
घरदैलो कार्यक्रममा एमालेका स्थानीय तथा केन्द्रीय नेताहरूको उल्लेख्य सहभागिता देखिएको थियो । कार्यक्रममा बुद्धरत्न मानन्धर, हरी गोपाली, कल्पना बलामी, अच्युतम ढकाल, विमल कुमार ढकाल, तुलसा बिष्ट, सुरेन्द्रमान प्रधान, हेम थिङ, सुजन रायमाझी, सुजन खत्री, शशिधर सुवेदी लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।
गाउँका घरआँगनमा पुग्दा बर्तौलालाई स्थानीयले फूलमाला र खादाले स्वागत गरे । स्वागतसँगै उनीहरूले विकासका बाँकी कामलाई पूर्णता दिन सुझाव पनि दिए । कतिपयले सडक, खानेपानी र कृषि विकासका विषय उठाए भने कतिले रोजगारी र युवाका अवसरबारे चासो राखे । बर्तौलाले ती सबै विषय टिपोट गर्दै समाधानतर्फ पहल गर्ने प्रतिबद्धता जनाए ।



















