मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार मकवानपुर जिल्लामा करिब ५९ प्रतिशत मतदान भएको छ। दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार मकवानपुरमा कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ रहेको थियो। तीमध्ये १ लाख ८६ हजार ५५१ मत खसेको छ। खसेको मतमध्ये ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र अन्य पाँच जना मतदाताले मतदान गरेका छन्।
निर्वाचन कार्यालयबाट प्राप्त विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा ४७ हजार ६७० पुरुष, ४७ हजार ६३६ महिला र चार अन्य गरी कुल ९५ हजार ३१० मत खसेको छ। यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा ४८ हजार ९६४ पुरुष, ४२ हजार २७६ महिला र एक अन्य गरी कुल ९१ हजार २४१ मत खसेको कार्यालयले जनाएको छ।
निर्वाचन सम्पन्न भएसँगै जिल्लाका विभिन्न मतदान केन्द्रबाट संकलित मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी ल्याइएको छ। ती मतपेटिका खोली मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गर्ने तयारी गरिएको छ। मतगणना सुरु गर्ने विषयमा सहमति जुटाउन शुक्रबार बिहान सर्वदलीय बैठक बस्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार मतगणनालाई व्यवस्थित बनाउन भुटनदेवी माध्यमिक विद्यालयका दुई वटा ब्लकमा छुट्टाछुट्टै व्यवस्था गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना ‘ए’ ब्लकको उत्तरतर्फ रहेको भवनमा गरिनेछ भने निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना ‘बी’ ब्लकमा सञ्चालन गरिने व्यवस्था गरिएको उनले जानकारी दिइन्।
निर्वाचनका लागि मकवानपुर जिल्लामा कुल ३७४ मतदान केन्द्र तोकिएका थिए। तीमध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा १७८ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा १९६ मतदान केन्द्र रहेका थिए। ती सबै मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।
१०२ वर्षीयको मतदान
यसैबीच, हेटौँडा उपमहानगरपालिका–६ निवासी १०२ वर्षीय टीकादत्त पौडेलले पनि मतदानमा सहभागिता जनाएका छन्। उनले हेटौँडास्थित वंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
वि.सं. १९८२ मा जन्मिएका पौडेलले २०१५ साल यताका सबै निर्वाचनमा नियमित रूपमा मतदान गर्दै आएका छन्। उनका नाति विजय पौडेलका अनुसार यसपटक उनले आफ्ना छोरा कृष्णप्रसाद पौडेलको सहयोगमा मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।
















