मकवानपुर। मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर १ मा प्रकाश गौतम र क्षेत्र नम्बर–२ मा प्रशान्त उप्रेती भारी मतान्तरसहित निर्वाचित भएका हुन्।
मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार ३७ वर्षीय प्रकाश गौतम विजयी भएका छन्। हेटौँडा उपमहानगरपालिका–५ निवासी गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई फराकिलो मतान्तरले पराजित गरे। डिनाले १४ हजार ३८ मत प्राप्त गरिन्।
यस निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामेश्वर राना १२ हजार ७८३ मतसहित तेस्रो स्थानमा रहे। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विजय गौतमले १० हजार ७८८ मत प्राप्त गरे भने उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत ल्याए। श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गरिन्।
अघिल्लो निर्वाचनका विजेता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह भने यस पटक छैटौँ स्थानमा सीमित भए। उनले ४ हजार ५७४ मत मात्र प्राप्त गरेका छन्। निर्वाचन आयोगका अनुसार मकवानपुर–१ मा कुल ९५ हजार ३ सय १० मत खसेको थियो।
यो परिणामसँगै नेकपा एमालेका राना संघीय संसद प्रवेश गर्ने दोस्रो प्रयासमा पनि असफल भएका छन्। उनले २०६४ सालको संविधानसभा निर्वाचनमा पनि पराजय व्यहोरेका थिए।
त्यस्तै, नेपाली कांग्रेसकी डिना उपाध्यायले लगातार पाँचौँ पटक प्रत्यक्ष निर्वाचनमा हार व्यहोरेकी छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन्। उक्त निर्वाचनमा सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गर्दा डिनाले २५ हजार ४ सय ३४ मत ल्याएकी थिइन्।
नेपाल कम्युनिष्ट पार्टीका विजय गौतमले भने यस पटक पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
यसैगरी मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा पनि रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गर्दा बर्तौलाले १९ हजार ६२४ मत पाए। नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो स्थानमा रहे। यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो।
उप्रेतीको जितसँगै मकवानपुर–२ मा करिब ३६ वर्षदेखि कायम रहेको कम्युनिस्ट वर्चस्वसमेत अन्त्य भएको छ। २०४६ सालपछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा अन्य कम्युनिस्ट दलका उम्मेदवार विजयी हुँदै आएका थिए। पछिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा पनि एमालेका बर्तौला विजयी भएका थिए।
२५ वर्षीय उप्रेती संसदमा प्रवेश गर्ने सबैभन्दा कान्छा सांसद बन्ने भएका छन्। उनी काठमाडौँमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका थिए। यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहको सचिवालयमा आईटीसम्बन्धी कामसमेत सम्हालेका उप्रेती रास्वपाबाट टिकट पाएपछि चुनाव लड्न मकवानपुर आएका थिए।
मकवानपुरका लागि नयाँ अनुहार भए पनि हेटौँडा उपमहानगरपालिकाका केही वडा, मनहरी गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका वडाबाट प्राप्त मतले उनलाई निर्णायक अग्रता दिलाएको देखिएको छ। जिल्लाका दुर्गम क्षेत्रहरूमा भने प्रमुख दलहरूबीच मत लगभग प्रतिस्पर्धात्मक रूपमा बाँडिएको थियो।
















