मकवानपुर । भोटेकोशीमा १० भदौमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा बागमती प्रदेश सरकारले उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आवश्यक जनशक्ति परिचालन गरेको छ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार प्रदेश सरकारले बाढीबाट घरबारविहीन भएकालाई अस्थायी बसोबास र भोजनको व्यवस्था गरेको छ। बाढीमा ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक २५ हजार रुपैयाँ अन्तिम संस्कार खर्च उपलब्ध गराउने निर्णय गरिएको छ। गोसाइँकुण्ड, कैलाशलगायतका क्षेत्रमा अलपत्र तीर्थयात्रीलाई निःशुल्क बस सेवा सञ्चालन गरिएको छ।
प्रदेश सरकारले रसुवा र नुवाकोटका लागि दुई–दुई करोड तथा धादिङ र चितवनका लागि ५०-५० लाख रुपैयाँ गरी कुल तीन करोड रुपैयाँ स्थानीय विपद् कोषमा उपलब्ध गराउने प्रवक्ता केसीले जानकारी दिए ।
बाढीका कारण त्रिशूली-धुन्चे तथा गल्छी–धादिङ हुँदै काठमाडौं जोड्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग सञ्चालनको काम अघि बढाइएको छ। मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिवसहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा प्रत्यक्ष परिचालन भएका छन्।
११ भदौसम्म विदुरका चार स्थानमा अस्थायी आश्रयस्थल र खानाको व्यवस्था गरिएको थियो। चारवटा हेल्थ क्याम्प सञ्चालनमा ल्याएर घाइतेको उपचार भइरहेको छ। विदुरबाट करिब एक सय नागरिकलाई काठमाडौं सुरक्षित पुर्याइएको छ। धुन्चेदेखि महभीर, चौगटेदेखि काठमाडौं तथा विदुरदेखि काठमाडौंसम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रदेश सरकारले जनाएको छ।
हेटौँडास्थित गोदामबाट विदुरको राहत संकलन केन्द्रमा २८० थान त्रिपाल, ५० थान टेन्ट र १७० सेट गैरखाद्य सामग्री पठाइएको छ। धुन्चेमा अस्पताल, यातायात र दूरसञ्चार सेवा सञ्चालनका लागि ४०० लिटर डिजेल र २०० लिटर पेट्रोल उपलब्ध गराइएको छ।
नुवाकोट जिल्ला समन्वय समिति परिसरमा प्रदेश सम्पर्क तथा समन्वय केन्द्र स्थापना गरी राहत तथा उद्धारको काम अघि बढाइएको छ। यातायात व्यवस्था, पूर्वाधार तथा वैकल्पिक मार्ग, स्वास्थ्य, राहत वितरण र हवाई उद्धारका लागि पाँचवटा कार्यदल गठन गरिएको छ।
बाढीबाट ४० भन्दा बढी पुल भत्किएपछि बेलिब्रिज, झोलुङ्गेपुल र तुइन निर्माणका लागि स्थान पहिचान गरी निर्माण प्रक्रिया तीव्र पारिएको छ। छहरे, चौराडा, बाहुनबेंसी, नर्जामण्डप, लम्याङ्, सरमथली, पाटीखर्क, हिल्चेक, भोर्ले, जीरो किलो हुँदै पासाङल्हामु राजमार्गमार्फत धुन्चेसम्मको वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने काम भइरहेको छ। त्रिशूलीपारिको अवरुद्ध सडक सफाइ गरी यातायात सञ्चालनमा ल्याउन पनि जोड दिइएको छ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको १० भदौको बिहान बसेको आकस्मिक बैठकले तत्काल उद्धार र राहतका निर्णय गरेको थियो। त्यसपछि सोही दिन बेलुका विदुरमा स्थलगत निरीक्षण, ११ गते तीन तहका अधिकारीबीच समन्वय तथा समीक्षा बैठक र १२ गते रसुवा तथा नुवाकोटमा सर्वपक्षीय बैठक भएका छन्।
मुख्यमन्त्रीको नेतृत्वमा टोली अहिले धुन्चे पुगेको छ। प्रमुख जिल्ला अधिकारीको समन्वयमा प्रदेशका थप १० अधिकृत कर्मचारी परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा कार्यरत कर्मचारीलाई कार्यस्थल नछोड्न तथा सार्वजनिक बिदाका दिनसमेत निरन्तर खटिन निर्देशन दिइएको छ।
प्रदेश सरकारले स्थानीय तहलाई वास्तविक क्षति र आवश्यक राहतको विवरण तत्काल उपलब्ध गराउन आग्रह गरेको छ। विवरण प्राप्त भएपछि थप राहत उपलब्ध गराउने तयारी गरिएको छ। जिल्ला विपद् समिति, स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवालासँग प्रदेश सरकारको टोलीले प्रत्यक्ष समन्वय गरिरहेको छ। विपद् विज्ञ डा। दीपक विक्रम थापा सल्लाहकारका रूपमा खटिएका छन्।
प्रदेश सरकारले प्रभावित नागरिकलाई धैर्य र संयम अपनाउन आग्रह गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ।
प्रभावितका लागि सहयोग गर्न मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोषको राष्ट्रिय वाणिज्य बैंक खाता नम्बर १३००१००२०२०६०००० मा रकम जम्मा गर्न सकिने प्रदेश सरकारले जनाएको छ।











