हेटौँडा । हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयले कक्षा १२ का उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित २०८२ सालको परीक्षा नतिजामा उत्कृष्ट जीपीए (GPA) प्राप्त गर्ने पृज्मा शिवाकोटी, रोजिना रुवालीलगायतका विद्यार्थीहरूलाई विद्यालयले नगद पुरस्कार र सम्मान पत्रद्वारा पुरस्कृत गरेको हो।
विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकहरूलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सहायक प्रधानाध्यापक शर्मिला ढकालका अनुसार विद्यार्थीको मेहनतलाई कदर गर्दै उनीहरूका अभिभावकलाई सम्मान गरिएको हो।
कार्यक्रममा विद्यालयको शैक्षिक गतिविधिबारे जानकारी दिँदै शैक्षिक सहायक प्रधानाध्यापक बैकुण्ठ नेपालले विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि नर्सरीदेखि कक्षा १० सम्म उपलब्धि परीक्षा (Achievement Test), जिरो कक्षा तथा उपचारात्मक कक्षाहरू सञ्चालन गर्दै आएको बताउनुभयो।
कार्यक्रममा वडा सदस्य सञ्जय बिडारी, शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण बस्नेत, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयले शैक्षिक नतिजामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको छ।


















