नेपालसंवाद डटकमले गत वर्ष २०८२ भदौ १५ गतेदेखि आफ्नो प्रकाशन यात्रा प्रारम्भ गरेको हो। ‘नेपालको आवाज बोल्ने’ अठोटसहित सुरु भएको हाम्रो यो यात्रा आज एक वर्ष पूरा भएको छ। तर, यो एक वर्ष सामान्य समयजस्तो रहेन।

प्रकाशन सुरुआत गरेको केही दिनमै, भदौ २३ र २४ गते देशले जेनजी आन्दोलनको सामना गर्नुपर्‍यो। आन्दोलनमा देशले धेरै युवा गुमायो भने ठूलो मात्रामा भौतिक संरचनाको क्षति व्यहोर्नुपर्‍यो। त्यसपछि संसद् विघटन भयो, सुशीला कार्की नेतृत्वमा सरकार बन्यो र निर्वाचन सम्पन्न भयो। निर्वाचनपछि नयाँ शक्ति करिब दुई तिहाइ मतसहित उदायो। यी सबै घटनाक्रमको साक्षी बन्दै नेपालसंवादले आफ्नो पत्रकारिताको कर्मयात्रालाई निरन्तरता दिइरह्यो।

सञ्चारमाध्यम र पत्रकारिता स्वयं संकटमा छन्। विज्ञापनको अभाव छ, राज्यबाट आर्थिक सहायता छैन। स्रोतसाधन र दक्ष जनशक्तिको अभावका बीच पाठक तथा दर्शकको चाहनाअनुसार सूचना, समाचार र सामग्री प्रस्तुत गर्नु चुनौतीपूर्ण बनेको छ। यिनै कठिनाइबीच पनि नेपालसंवाद आफ्नो जिम्मेवारीबाट पछि हटेको छैन।

फेरि, अस्ति भर्खरै भदौ १० गते देशले अर्को ठूलो विपत्ति व्यहोर्नुपर्‍यो। रसुवामा आएको भोटेकोशी बाढीले सयौँ नागरिकको ज्यान लिएको छ। हजारौँ बेपत्ता छन्। फेला परेका शवसमेत पहिचान गर्न नसक्दा आफन्तको पीडा झनै गहिरिएको छ।

आज त्यही दिन हो, जुन दिन नेपालको आवाज बोल्ने अठोटका साथ नेपालसंवाद सुरु भएको थियो। समय हिजो पनि असहज थियो, आज अझ कठिन र अभावपूर्ण छ। त्यसैले हामीले यो दिनलाई उत्सवमय रूपमा मनाउन सकेनौँ। देशमा राम्रो भएको दिन हामी खुसी साटौँला।

संकटका बीच नागरिकलाई पत्रकारितामार्फत सुसूचित गराउने हाम्रो अभियान जारी रहनेछ। विपत्तिबाट उठ्दै नागरिकमा आशा जगाउने, सपना जागृत गराउने र सुनौलो भविष्यको क्षितिज देखाउने काममा हाम्रा शब्दहरू अनलाइन पोर्टलमा लिपिबद्ध भइरहनेछन्।

यस यात्रामा सबैको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दछौँ। धन्यवाद।
नेपालसंवाद