किरण थापामगर, मुख्यमन्त्री, बागमती प्रदेश सरकार
आज म अत्यन्त महत्वपूर्ण जिम्मेवारी बोध गर्दै यस गरिमामय प्रदेशसभासमक्ष उपस्थित भएको छु । नेपालको संविधानले दिएको व्यवस्था अनुसार बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा यस सदनबाट विश्वासको मत माग्न उपस्थित भएको सम्मानित यस प्रदेश सभामा जानकारी गराउन चाहन्छु र माननीयज्यूहरुसंग विनम्रता पुर्वक अपिल गर्न चाहन्छु ।

सर्वप्रथम यस अवसरमा आजको अवस्थासम्म आउन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा शान्तिपूर्ण जनआन्दोलन र शसस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रती श्रद्धासुमन अर्पण गर्दछु साथै घाइते, बेपत्ता एवम् सहिद परिवारप्रति सम्मान प्रकट गर्दछु ।

मलाई बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गर्ने हाम्रो पार्टी नेकपा एमाले, सहयात्री दलहरु नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातान्त्र पार्टीप्रति विशेष आभार प्रकट गर्दछु ।

हामी अलि फरक परिस्थितिमा छौँ । आजको समय, परिस्थिति, घटनाक्रमले प्रदेशबासीका मुद्दाहरु ओझेलमा पर्ने होकी भन्ने आशंका उब्जाएकोजस्तो देखिएता पनि यसै सम्मानित प्रदेश सभामार्फत म स्पष्ट पार्न चाहन्छु की प्रदेशवासीका मुद्घा सदैव सरकारको प्राथमिकतामा हुनेछ ।

प्रदेश सरकारको बजेट प्रदेश सभाबाट पारित भइसकेको छ, यसको कार्यान्वयनमा मेरो प्रतिबद्धता रहने पनि यसै सभामा जानकारी गराउछु । यसैगरी सरकारको न्युनतम साझा कार्यक्रम पनि छिटोभन्दा छिटो सार्बजनिक गर्ने पनि जानकारी गराउन चाहन्छु । म मुख्यमन्त्रीको जिम्मेवारीमा रहिरहँदा बागमती प्रदेशका लाखौँ जनताको सेवा गर्ने, उनीहरूको आशा र अपेक्षालाई, उपलब्ध साधन र स्रोतको समुचित प्रयोग गरि सम्बोधन गर्ने तथा प्रदेश सरकारप्रतिको विश्वास अझ बलियो बनाउने हाम्रो जिम्मेवारी हो । मैले यस जिम्मेवारीलाई अवसरभन्दा बढी चुनौतीका रूपमा लिएको छु । समृद्ध नेपाल सुखी नेपालीको नारासहित नेकपा (एमाले) अगाडि बढिरहेको सन्दर्भमा हाम्रो सरकार पनि यो कार्यदिशामा अगाडि बढ्ने छ । किनभने आज बागमती प्रदेशका जनताले सरकारबाट परिणाम खोजिरहेका छन् । आश्वासनभन्दा नतिजा खोजिरहेका छन् । कागजमा योजना होइन, आफ्नो गाउँठाउँमा विकास खोजिरहेका छन् । स्वास्थ्य उपचार, विद्यालयमा गुणस्तरीय जीवन उपयोगी शिक्षा, हरित अर्थतन्त्रसँग जोडेर कृषि, वन, पर्यटनको विकास, युवाका लागि रोजगारी र नागरिकले सरकारी कार्यालयमा सहज सेवा पाउने अवस्था चाहिरहेका छन् ।

यी सबै भावना सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता यसै प्रदेशसभा समक्ष व्यक्त गर्दछु । सबै मन्त्रालयहरुलाई यही दिशामा लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।

हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौँ । प्रदेश सरकार संघीयताको महत्वपूर्ण आधार हो । प्रदेश सरकार बलियो भए मात्र संघीयता बलियो हुन्छ । प्रदेश सरकार प्रभावकारी भए मात्र जनताले संघीयताको प्रत्यक्ष अनुभूति गर्न सक्छन् ।
त्यसैले प्रदेश सरकारलाई केवल प्रशासन चलाउने संरचनाका रूपमा होइन, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।

बागमती प्रदेश यस्तो प्रदेश हो जहाँ संघीय राजधानी रहेको छ । यहाँ देशकै ठूलो जनसंख्या, आर्थिक गतिविधि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारको प्रचुर सम्भावना छ । यसैको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिनेछ । तर यही प्रदेशभित्र दुर्गम भूगोल, ग्रामीण क्षेत्र, विपन्न समुदाय, बेरोजगारी, असमान विकास र आधारभूत सेवाबाट अझै पनि टाढा रहेका नागरिकहरू छन् । मानव सूचकांकमा तल परेका पालिकाहरु र सिमान्तकृत, अल्पसंख्यक, उत्पीडित समुदाय सधै मेरो प्राथमिकतामा पर्नेछन् ।

ग्रामीण, दुर्गम तथा शहरी क्षेत्रको बिशिष्टीकृत अवस्थाको आधारमा सन्तुलन कायम गर्नुपर्ने चुनौती हामीसामु छ । यसर्थ, प्रदेशका सबै भूगोल र सबै नागरिकलाई समान रूपमा विकासको अनुभूति गराउने सरकारको ध्येय हुनेछ ।

स्वास्थ्य सेवा जनताको मौलिक अधिकारसँग जोडिएको विषय हो । गरिब नागरिकले उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । शिक्षा विकासको पहिलो आधार हो । हाम्रो प्रदेशमा सरकारी विद्यालयको गुणस्तर सुधार नगरी समृद्ध प्रदेश निर्माण गर्न सकिँदैन । प्रदेश सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै शिक्षाको गुणस्तर, प्रविधिको प्रयोग, शिक्षकको क्षमता विकास र विद्यार्थीको सिकाइ उपलब्धिमा जोड दिनेछ ।

किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य नपाउने, बजार नपाउने र उत्पादन लागत बढ्ने समस्या अझै छ । अब किसानलाई केवल अनुदान दिने होइन, उत्पादनदेखि बजारसम्म जोड्ने नीति बनाइने छ ।

युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने र कृषिलाई सम्मानजनक तथा आम्दानीको भरपर्दो पेशाका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हुनेछ । आज हाम्रो सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा युवाको विदेश पलायन हो । हाम्रा युवा अवसरको खोजीमा विदेश जान बाध्य छन् । यस अवस्थालाई केवल भावनात्मक भाषणले रोक्न सकिँदैन त्यसैले प्रदेशभित्रै उद्योग स्थापना, पर्यटन विकास, सूचना प्रविधि, कृषि तथा साना उद्यम, खेलकुदलाई प्रोत्साहन गरेर रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध हुनेछ ।

विकासको नाममा योजना छनोट गर्ने र वर्षोंसम्म काम सम्पन्न नहुने प्रवृत्ति अझै पनि कायम छ ।
प्रदेश सरकारले आवश्यकताको आधारमा योजना छनौट गर्ने, समयमै ठेक्का प्रक्रिया अगाडि बढाउने, गुणस्तरीय निर्माण सुनिश्चित गर्ने र समयमै सम्पन्न हुने प्रणाली विकास गर्न सरकारले काम गर्नेछ ।

यो सरकार केवल सत्ता पक्षको सरकार होइन । यो बागमती प्रदेशका सबै जनताको सरकार हो । प्रदेशसभामा फरक–फरक राजनीतिक दलको प्रतिनिधित्व छ । हाम्रो विचार फरक हुन सक्छ, हाम्रो राजनीतिक दृष्टिकोण फरक हुन सक्छ, तर बागमती प्रदेशको विकास र जनताको हितमा हाम्रो साझा जिम्मेवारी छ ।
सरकारलाई बलियो बनाउन जिम्मेवार ढंगले रचनात्मक साथ दिन आग्रह गर्दछु । सरकारका कमजोरी देखिएमा औंल्याइदिनुहोस्, खबरदारी गर्नुहोस्, तर प्रदेशको विकासका सवालमा सहकार्यको वातावरण बनाऔं । म प्रतिपक्षको आलोचनालाई विरोधका रूपमा मात्र होइन, सरकारलाई सही मार्गमा हिँडाउने खबरदारीका रूपमा ग्रहण गर्नेछु ।

प्रदेशमा बारम्बार सरकार परिवर्तन हुने अवस्था सिर्जना हुँदा विकासका काम प्रभावित हुन्छन् । नीति तथा कार्यक्रमको निरन्तरता कमजोर हुन्छ । प्रशासनिक संरचना अस्थिर हुन्छ । यसको प्रत्यक्ष असर जनतामा पर्छ ।
त्यसैले राजनीतिक स्थिरता र सरकारको स्थायित्व प्रदेशको विकासका लागि आवश्यक छ ।

म सबै राजनीतिक दल र माननीय सदस्यज्यूहरूलाई आग्रह गर्न चाहन्छु हामी राजनीतिक प्रतिस्पर्धा गरौँ, तर विकासका सवालमा सहकार्य गरौँ ।

हामीले जनताको मतलाई सम्मान गर्नुपर्छ । जनताले हामीलाई वादविवादमा अल्झिन होइन, काम गर्नका लागि निर्वाचित गर्नुभएको हो ।
अन्तरतह समन्वय, प्रदेश अधिकार प्राप्तिको विषय, प्राप्त उपलब्धिको प्रयोगको बिषय, सुशासन र जवाफदेहिताको प्रत्याभूति एवम् अनुगमनको बिषयहरुलाई प्रभावकारी बनाउनु, भ्रस्टाचारविरुद्ध शून्य सहनशीलता, हामी सबैको सामुहिक दायित्व भएपनी सरकारले यसलाई आफ्नो विशिस्ट दायित्वको रुपमा लिने प्रतिबद्धता व्यक्त गर्दछु ।